उच्च तहका कर्मचारीलाई धम्क्याउँदै हिँड्ने शाही ठगी र बैंकिङ कसुरको अभियुक्त

२८ असोज ०८२, काठमाडौं । जेनेरेशन जेडले गरेको आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्री भएसँगै सरकारी कार्यालयहरुमा उच्च तहका कर्मचारीहरूलाई धम्क्याउँदै हिँड्ने अर्जुन बहादुर शाही ठगी र बैंकिङ कसुरको अभियुक्त रहेको पुष्टि भएको छ ।

नागरिक उड्ययन प्राधिकरण, वायुसेवा निगमदेखि अख्तियारको केन्द्रीय कार्यालयमा पुगेर ज्ञापन पत्रको नाममा उच्च पदस्थ अधिकारीहरूलाई धम्क्याउँदै हिँडिरहेका शाही ठगी र बैंकिङ कसुरको अभियुक्त रहेको पुष्टि भएको हो ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाही प्रहरी वृत्त महाराजगञ्जमा दर्ता भएको बैंकिङ कसुर मुद्दाका अभियुक्त उनी ३० हजार धरौटी बुझाएर छुटेका थिए ।

शाही टोलीले नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको राजीनामा माग गरेको थियो भने नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई घरबाटै थुत्ने अभिव्यक्ति समेत दिएको भिडियो फुटेजमा सार्वजनिक भएको देखिन्छ ।

शाहीले होमराज खपाङ्गी मगरसँग मिलेर रेड स्टार प्रोडक्सन एण्ड मिडिया हाउस चलाएका थिए । सो कम्पनीको तर्फबाट श्रीकृष्ण फुयाँललाई दिएको चेक साटिएन ।

चेक नसाटिएपछि फुयाँलले बाउन्स गरेर प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए । अनुसन्धानमा संलग्न एक जना अधिकृतकाअनुसार शाही विरुद्ध ठगी तथा बैंकिङ कसुरका ३ वटा मुद्दा अदालतमा विचाराधीन छन् ।

यस्तै प्रहरीले संकलन गरेको विवरण अनुसार शाही बाल्यकालदेखि नै चोरी कार्यमा संलग्न हुने गरेको पाइएको छ । उनको परिवारसँग पनि राम्रो सम्बन्ध छैन । उनी कक्षा ८ मै पढ्ने बेलामा साविक कालिका गाविस–९ का तुला बहादुर शाहीको घरबाट ३ वटा बाख्रा चोरी भएको थियो । उक्त चोरीको घटनामा शाहीसहित अन्य दुई जना संलग्न थिए ।

तीमध्ये एक जनालाई पक्राउ गरिएको भए पनि अर्जुन भने त्यही बेलामा गाउँबाट भागेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट फेला पारेको छ ।

शाहीकी आमाले आफ्नो परिवारसँग उनको सम्बन्ध राम्रो नभएको प्रहरीलाई बताएकी छिन् ।

यिनै शाही सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेपछि शाही शितल निवासमा आयोजित शपथग्रहण समारोहमा सहभागी थिए ।