२१ साउन ०८०, जनकपुरधाम । मधेस प्रदेशकी उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले आफूविरुद्ध अख्तियारमा उजुरी परेपछि छानबिनमा सघाउने बताएकी छन् ।
नियम विपरीत रकमान्तर गरेको आरोपसहित अख्तियारमा परेको उजुरीमाथि छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन मन्त्रालयलाई अख्तियारले पत्र काटेपछि मन्त्री यादवले छानबिनमा सघाउने बताएकी हुन् ।
आइतबार बिहान सामाजिक सञ्जाल मन्त्री यादवले आरोपमा सत्यता नरहेको भन्दै अनुसन्धानका लागि आफू अख्तियारलाई सघाउन तयार रहेको बताएकी छन् ।
उजुरी हाल्दैमा दोषी ठहर नहुने उल्लेख गर्दै मन्त्री यादवले लेखिकी छन् ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा कसैले कसैमाथि पनि विरोध गर्न पाउनु, उजुरी/आरोप लगाउन पाउनु नितान्त सामान्य कुरा हो । यही त लोकतन्त्रको विशेषता पनि हो । उजुरी हाल्दैमा सबै दोषी ठहर हुने पनि हैनन्, प्रमाणित हुनुपर्दछ ।’
गत आर्थिक वर्षको रेडबुक मार्फत सार्वजनिक भएको पर्यटनतर्फको कार्यक्रममा करिब ४२ करोड बराबरको योजना संशोधन गरी मन्त्री सुनिता यादव र अधिकृत लालबाबु यादवले विभिन्न शीर्षकमा २ सय ६३ वटा नयाँ योजनामा नियम विपरीत रकमान्तर गरेको आरोपसहित अख्तियारमा उजुरी परेको थियो । त्यसबारे अख्तियारले मन्त्रालयलाई साउन १४ मा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन पत्र पठाएको छ ।













