४ भदौ ०८२, काठमाडौं । उपसभामुख इन्दिरा रानामगरको अमेरिका भ्रमणबारे सभामुख देवराज घिमिरेसँग चासो व्यक्त गरेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिनिधिसभा बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपसभामुखको अमेरिका भ्रमणबारे प्रश्न गरेपछि सभामुखले चासो व्यक्त गरेका हुन् ।
कांग्रेस सांसद रामहरि खतिवडाले बैठकमा उपसभामुख रानाको अमेरिका भ्रमण संसद्कै कार्यक्रम हो कि बाहिरको ? भन्दै प्रश्न गरेका थिए ।
उनको यो प्रश्नको जवाफमा सभामुख घिमिरेले भनेका छन्, ‘उहाँ (उपसभामुख) आफ्नो व्यक्तिगत भ्रमणमा जानुभएको हो । जानकारी दिनुभएको थियो ।’
सभामुखले व्यक्तिगत भ्रमण रहेको टिप्पणी गरेपछि खतिवडाले सभामुखलाई पुनः प्रश्न गरे, ‘रातो पासपोर्ट प्रयोग गरेर धेरैपटक विभिन्न कार्यक्रममा जानुभएको छ । यो मिल्दैन । यो अपारदर्शी छ । ध्यानाकर्षण गराउँछु ।’
यतिबेला अमेरिका भ्रमणमा रहेकी उपसभामुख आगामी १३ भदौमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।













