२४ चैत्र ०८१, बिराटनगर । नेकपा (एकीकृत समाजवादी) मोरङ जिल्लाको नेतृत्व चयन गरेको छ ।
सो पार्टीका पोलिटव्यूरो सदस्य महेश रेग्मीका अनुसार चन्द्रवीर राईको नेतृत्वमा जिल्ला कमिटी गठन भएको हो ।
गत मंगलबार सुरु भएको ९औं जिल्ला अधिवेशन बुधबार सक्ने तयारी रहेको थियो तर नेतृत्वका आकांक्षी धेरै भएपछि सर्वसम्मत नेतृत्व चयन हुन नसक्दा ६ दिनपछि आइतबार नेतृत्व चयन गरिएको हो ।
निर्वाचन गर्न नेताहरुले रोकेपछि प्रतिनिधिहरू घर फर्किसकेका थिए । अध्यक्ष चुनिएका राई यसअघि पनि जिल्ला अध्यक्ष थिए ।
एक जना पदाधिकारी र १४ सदस्य छनौट गर्न बाँकी नै रहेको पोलिटव्यूरो सदस्य रेग्मीले जानकारी दिए ।
जिल्ला अधिवेशनले ९१ सदस्य निर्वाचित गर्नुपर्ने थियो । ७७ सदस्य मात्रै चयन गरेको छ ।
जिल्ला अधिवेशनमा नेतृत्वका आकाक्षी धेरै भएपछि प्रतिनिधिले निर्वाचन माग गरपनि उपाध्यक्ष जगन्नाथ खतिवडा, सचिव बलदेव चौधरी, महेश रेग्मीलगायतका नेताले निर्वाचन गर्न रोकिदिएका थिए ।
एमालेबाट विभाजन भएपछि बनेको नेकपा समाजवादीको यो पहिलो अधिवेशन हो, तर एमालेकै अधिवेशन संख्या गणना गरेर यसलाई नवौं जिल्ला अधिवेशन भनेका छन् ।













