एपीएफ टोलीद्वारा दुई जना पक्राउ, लागूऔषध, चोरीपैठारीका सामान बरामद

२३ साउन ०७७, महोत्तरी । जिल्लाको गौशाला नगरपालिका १ बाट शुक्रबार सशस्त्र प्रहरी बल (एपीएफ)ले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले पक्राउ पर्नेहरुमा गौशाला नगरपालिका १ बस्ने बिजय साह र औरही नगरपालिका ६ बस्ने रुकेशकुमार साह रहेको जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस रामनगरबाट खटिएको एपीएफ टोलीले ना २८ प ८४१५ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँचका क्रममा एक्जीप्लोन ३ बोतल र स्पास ट्याब्लेट ४१ वटा फेला परेपछि पक्राउ गरेको हो ।

एपीएफले उनीहरुको साथबाट ८ हजार एक सय भारतीय रुपैयाँ, २४ हजार सात सय ४० नेपाली रुपैयाँ र दुई वटा मोबाईल सेट समेत बरामद गरेको छ ।

यस्तै एपीएफ टोलीद्वारा रौतहट जिल्लाको गौर नगरपालिका २ महादेवपट्टीस्थित सीमा ईलाकाबाट शुक्रबार नै करीब एक लाख ८६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान, लत्ताकपडा र किराना सामान बरामद समेत गरेको छ ।

भारतबाट अवैधरुपले चोरीपैठारी गरी ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । प्रहरीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका १ स्थित सीमा ईलाकाबाट साउन २३ गते एपीएफ टोलीले करीब एक लाख चार हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको उक्त सामानहरु सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । सो सामान समेत प्रहरीले भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।

जडीबुटी बरामद

यस्तै एपीएफले रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका २ मोहिनीहवाबाट बिहीबार २५ क्वीन्टल जडिबुटी र ओखर जस्तो देखिने वस्तु १५ क्वीन्टल बरामद गरेको छ ।

एक घरमा अवैध रुपमा लुकाई छिपाई भण्डारण गरी राखेको अवस्थामा उक्त जडिबुटी र ओखर जस्तो देखिने बस्तु सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेस मेहिनीहवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफले उक्त बरामद जडिबुटी र ओखर जस्तो देखिने वस्तु जिल्ला वन कार्यालय रुपन्देहीमा बुझाएको छ ।