एमसीसीको विरोधमा चर्चित नेताका तस्बिर अंकित फुटबललाई लात्ती हान्ने स्वागत नेपालको तयारी

२६ जेठ ०७७, काठमाडौं । “स्वतन्त्र राष्ट्रिय अभियान नेपाल”ले एमसीसीको सांकेतिक विरोध गर्दै एमसीसी पक्षधर नेताहरुको तस्बिर अंकित फुटबललाई लात्ती हान्ने कार्यक्रम रहेको बताएको छ ।

कानुन व्यवसायी समेत रहेका अभियानका संयोजक स्वागत नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज सम्झौता राष्ट्रघाती रहेको र यसको खारेजीका लागि दबाब दिन सांकेतिक विरोधस्वरुप सोमबार एमसीसीका पक्षधर नेताहरुको तस्बिर अंकित फुटबललाई लात्ती हान्ने कार्यक्रम रहेको बताएका हुन् ।

आज दिउँसो १ बजे माइतीघर मण्डलामा एमसीसीको सांकेतिक विरोध गर्दै एमसीसीका पृष्ठपोषकको तस्बिर चित्रित फुटबललाई हात्ती हान्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

उनले भने, “फुटबलमा अमेरिकी राष्ट्रपति, भारतीय प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय साथै एमसीसीका पृष्ठपोषकहरुका तस्बिर अंकित फुटबललाई आज दिउँसो १ बजे माइतीघर मण्डलामा लात्ती हानिनेछ ।”

सरकारले घोषणा गरेको निषेधित क्षेत्रमा बेलुनमा हावा भरेर राष्ट्रघातकाविरुद्ध विभिन्न नाराहरु लेखेर उडाउने समेत उनले बताए ।

केही समय अघि भारतले मिचेको नेपाली भूभाग फिर्ता गर्न दबाबमुलक कार्यक्रम गरेर चर्चामा आएका नेपाल पछिल्लो समय राष्ट्रिय भण्डा धुने कार्यक्रम गरेपछि थप चर्चामा छन् ।

कानून व्यवसायी एवम् सामाजिक अभियान्ता नेपालले हालै आफूलाई भारतीय दुतावासको एक कर्मचारीले सरल भाषामा धम्की दिएको अडियो सार्वजनिक समेत गरेका छन् ।

एमसीसीलाई देखाएर ‘गणतन्त्र मूर्दावाद’को नारा लगाउनेलाई सबै मिलेर ठोक्नुपर्ने बताउँदै संयोजक नेपालले आफ्नो अभियान राष्ट्रवादी, मानवतावादी रहेको तर राजावादी र संसदवादी नभएको बताएका छन् ।