१३ भदौ ०८०, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को पाँच वर्षे अवधि गणना आजदेखि सुरूभएको छ ।
आज बुधबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रममा अर्थमन्त्री प्रकाशशरण महत र एमसिसी कम्प्याट सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून अल्फोर्डले परियोजनाको कार्यान्वयनमा गएको घोषणा गरेसँगै पाँच वर्षे अवधि गणना आजदेखि सुरूभएको हो ।
आजबाट कार्यान्वयनमा गएको एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ ।
एमसीसी कार्यान्वयनमा गएसँगै सत्तारुढ दलसहितको सहभागितामा बनेको समाजवादी मोर्चाभित्र विवाद सुरुभएको छ ।
एमसीसी कार्यन्वयनको घोषणा हुने भएपछि प्रधानमन्त्री प्रचण्डले बुधबार बिहानै बालुवाटारमा बोलाएको समाजवादी मोर्चाको बैठकमा नेत्रविक्रम चन्दले १२ बुँदे व्याख्यात्मक टिप्पणीबारे अमेरिकाको लिखित धारणा नआएसम्म कार्यान्वयन नगर्न आग्रह गरेका थिए ।
एमसीसीका कार्यान्वयनमा गएसँगै धनगढीमा बुधबार दिउँसो १ बजेका लागि तय भएको मोर्चाको सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा स्थगित भएको छ ।













