ओली आज गुण्डुमा आयोजित कार्यक्रममा सहभागी हुँदै

२३ असोज ०८२, काठमाडौं । जेनजी युवा आन्दोलनपछि भक्तपुरको गुण्डुमा बस्दै आएका एमालेका अध्यक्ष केपी शर्मा ओली आज गुण्डुमै आयोजित एक कार्यक्रममा सहभागी हुँदैछन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको ‘समसामयिक राजनीतिक विषयमा विशेष भेटघाट’ कार्यक्रममा एमाले अध्यक्ष ओलीले गर्ने सम्बोधनलाई चासोका साथ हेरिएको छ ।

जेनजी युवा आन्दोलनका क्रममा बालकोटस्थित निवासमा आगजनी भएसँगै प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओली भक्तपुरको गुण्डुमा बस्दै आएका छन् ।

भदौ २३ र २४ को आन्दोलनमा ओलीले दमनकारी नीति लिएको भन्दै उनलाई पक्राउ गरी कारबाही गर्न जेनेरेशसन जेड युवाहरुले प्रहरीमा उजुरी दिएका छन् भने प्रहरीले ओली विरुद्धको उजुरी जाँचबुझ आयोगमा पठाइसकेको छ ।

ओलीमाथि सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गर्नसमेत युवाहरुले दबाब दिँदै आएका छन् । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओलीलाई सरकारको अनुमतिबेगर काठमाडौं उपत्यकाबाहिर जान रोक लगाएको छ ।