कर्माचार्यले जित्यो, चौथो सेवेन ‘ए’ साइड डाँशु कप फुटबलको उपाधि

११ फागुन ०८१, पोखरा । अखिल नेपाल औधोगिक मजदुर संघ गण्डकी प्रदेश समितिले “चौथो सेवेन ‘ए’ साइड डाँशु कप फुटबल प्रतियोगिता –२०८१ आयोजना गरी २४औं मजदुर बलिदान दिवस मनाएको छ ।

सहिद डाँशु पौड्यालको २१औं स्मृति दिवसको अवसर पारेर नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल औधोगिक मजदुर संघ गण्डकीले फागुन १०–११ मा फुटबल प्रतियोगितासँगै मजदुर बलिदान दिवस मनाएको हो ।

सात टिम सहभागी रहेको सहिद डाँशु पौड्यालको स्मृतिमा आयोजित फुटबल खेलमा प्रथम स्थान कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि.का टिम र द्वितीय माछापुच्छ्रे मेटल प्रा.लि. टिम भएको थियो ।

उक्त फुटबल खेलमा उत्कृष्ट गोलकिपरको उपाधि कर्माचार्य वेक्स एण्ड फुड्स प्रा.लि.का खेलाडी देव गुरूङले हात पारेका थिए । भने, सोही प्रा.लि.का खेलाडी हर्क पुलामीले ३ गोल गरेर धेरै गोल गर्ने खेलाडीको उपाधि जितेका थिए ।

यसैगरी माछापुच्छ्रे मेटल प्रा.लि.का खेलाडी देवान मगरले वेस्ट प्लेयरको उपाधि जितेका थिए ।

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष तथा समापन खेल कार्यक्रमका प्रमुख अतिथि एसबी थापामगरले प्रथम र द्वितीय हुने विजेता टिम, विजेता खेलाडीहरू र खेलका लागि आर्थिक सहयोग गर्ने व्यक्तित्वहरुलाई ट्रफी, मेडल, पुरस्कार रकम र प्रमाणपत्र हस्तान्तण गरेका थिए ।

प्रथम हुने टिमले ३० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गरेका थिए भने द्वितीय हुने टिमले २० हजार रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गरेका थिए ।

उपाध्यक्ष थापामगरले समापन कार्यक्रमलाई सम्बोधन गर्दै फुटबल खेलमा सामूहिकता र एकताबाट उत्कृष्ट नतिजा हासिल भएजस्तै श्रमजीवी मजदुरको हकहित, अधिकार र सुरक्षा पनि आम श्रमिकहरु बैचारिक स्पष्टतासहित संगठित भई अघिबढ्दा मात्रै प्राप्त गर्न सकिने बताए ।

“श्रमजीवी मजदुरहरु जो जहाँ, जुन प्रतिष्ठानमा कार्यरत् छन् उनीहरु वैचारिक स्पष्टतासहित संगठित हुँदै अघिबढ्दा मात्रै मजदुरपक्षीय ऐन, कानुन, नियमहरु कार्यान्वयन भएका छन्,” उपाध्यक्ष थापामगरले भने, “श्रम ऐनका मजदुरविरोधी दफा खारेजी वा संशोधन गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न साथै आउट सोर्सिङ्ग खारेजीका लागि श्रमिक खेलाडीहरु मात्रै एकताबद्ध भएर हुँदैन, प्रतिष्ठानका सम्पूर्ण मजदुर बीच एकता कायम गरी संगठित भई बढ्न सक्दा कानुनमा भएको बाहेक थप अधिकार पनि प्राप्त हुन्छ ।”

उनले ऐन कनून कार्यान्वयनका लागि दबाब सिर्जना गर्न र महान् मजदुर सहिदहरुले देखेको सपना पूरा गर्न, गराउन, सम्पूर्ण श्रमिकहरु समाजवादको यात्रामा लामबद्ध साथै संगठनमा आवद्ध हुनुको बिकल्प नरहेको पनि बताए ।

अखिल नेपाल औधोगिक मजदुर संघ गण्डकी प्रदेश समतिका अध्यक्ष तिर्थ अधिकारीको अध्यक्षतामा भएको उक्त फुटबल खेलको उद्घाटन नेकपा (माओवादी केन्द्र)का कास्की जिल्ला सचिव विनय थापाले गरेका थिए ।

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीका उपाध्यक्ष टंक पौडेल, सचिव गुणराज बास्तोला, अन्टुफ कास्कीका अध्यक्ष अर्जुन पौडेल, अखिल नेपाल औधोगिक मजदुर संघका केन्द्रीय सदस्य सुकु दरै, मिना भुजेलको आतिथ्यता रहेको सो खेल तथा कार्यक्रमको सञ्चालन औधोगिक मजदुर संघका गण्डकी सचिव टंक झाँक्रीले गरेका थिए भने स्वागत मन्तव्य भोज दर्लामीले राखेका थिए ।

कार्यक्रमका केही तस्बिरहरु: