
केके मानन्धर/भक्तपुर । मध्यपुर थिमिस्थित पाचो धिमे खलःले तीन महिने धिमे बाजा प्रशिक्षण समापन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कला, संस्कृति तथा परम्परागत बाजा जगेर्ना र संरक्षण गर्ने उद्देश्यले धिमे बाजा प्रशिक्षण दिइएको आयोजकले दाबी गरेको छ ।
कार्यक्रममा संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले धर्म, संस्कृति र कलालाई संरक्षण गर्ने अभियानमा जुटेका युवाहरुप्रति आभार व्यक्त गर्दै आवश्यक ठाउँमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
मौलिकता जगेर्ना गर्दै यसतर्फ युवाहरूको आकर्षण अभिवृद्धि हुनु सुखद रहेको सांसद थापाको भनाई थियो ।

बागमती प्रदेश सरकार सामाजिक विकास कार्यालय ललितपुर भैंसेपाटीको लागत साझेदारीमा खलःले सम्पन्न गरेको धिमे बाजा प्रशिक्षणमा ५३ जना युुवायुुवतीहरु प्रशिक्षित भएको कार्यक्रम संयोजक सुशन प्रजापतिले जानकारी दिए ।
त्यस्तै, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले नगर क्षेत्रको कला, संस्कृति, बाजागाजा संरक्षणको लागि नगरपालिकाले आवश्यक सहकार्य गर्ने बताए ।
धिमे बाजा, बांसुरी, नौ बाजा, म्वायलि लगायत लोपोन्मुक बाजा संरक्षण गर्नुपर्नेमा जोड दिंदै धिमे बाजा प्रशिक्षण कार्यक्रम आयोजकलाई धन्यवाद दिए ।
त्यस्तै, बागमती प्रदेश सरकारकी सांसद माननीय धनेश्वरी प्रजापतिले बाजागाजाको जगेर्ना गर्ने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
नेवार संस्कृतिले नेपाललाई विश्वभर चिनाएको सन्दर्भ कोट्याउँदै उनले सांस्कृतिक समृद्धिको लागि राष्ट्रभक्तहरु एकीकृत हुनुपर्नेमा जोड पनि दिए ।

कार्यक्रममा मध्यपुरका जीवित सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापति लगायत ६ जना थिमि भैलःका गुरुहरु र पाँच जना बाजा गुरुहरुलाई सम्मान गरिएको थियो ।
औपचारिक बाजा प्रशिक्षण कार्यक्रममा ४ वर्षे बालकदेखि अर्धवैंशे पुरुष र महिलाहरु पनि सहभागी थिए ।

धिमे नृत्य तथा बाजा प्रस्तुति समेत गरिएको कार्यक्रममा जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, भैलः नाचका गुरुहरु, संस्कृतिप्रेमी तथा स्थानियबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।













