कांग्रेस भुटानी शरणार्थी प्रकरणका दोषी उम्काउने प्रयासमा छैन – जीवन परियार

२८ बैशाख ०८०, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही हुनुपर्ने बताएका छन् ।

काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै सहमहामन्त्री परियारले भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही हुनुपर्ने बताउँदै काँग्रेस नेता बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने विषय पनि बैठकमा उठेको बताएका हुन् ।

पक्राउ परेर खाँणका विषयमा कुनै निर्णय नभएको भन्दै उनले अदालतबाट दोषी ठहर नभइसकेकाले पार्टीले आधिकारिक धारणा बनाएर जानु उचित नहुने पनि बताए ।

‘उहाँ छानबिनका लागि तयार हुनुभएको छ । हाम्रो पार्टीका नेताले अनुसन्धानका लागि सहयोग गर्नुभएको छ’ परियारले भने, ‘नेकपा एमालेका पदाधिकारी आज पनि फरार हुनुहुन्छ । तर कांग्रेस दोषीलाई उम्काउने प्रयासमा छैन ।’