कांग्रेस सांसद माया राई पक्राउको सूचना प्रतिनिधिसभा बैठकमा

१४ बैशाख ०८२, काठमाडौं । उपसभामुख इन्दिरा रानाले आइतबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको सूचना पढेर सुनाएकी छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले कांग्रेस सांसद राईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको संघीय संसद सचिवालयलाई पत्र पठाएसँगै उपसभामुख रानाले राईको पक्राउ बारे जानकारी गराएकी हुन् ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपनि लामो समयदेखि फरार सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा उक्त सहकारीको सञ्चालक समितिमा रहेर सहसचिव पदमा कार्यरत राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

राई पुर्पक्षका लागि थुनामा गए सांसद पद निलम्बित हुनेछ ।