काठमाडौं । निजामती कर्मचारी अस्पताल र इलिनोइस विश्वविद्यालयले संयुक्त रुपमा विश्व बोनम्यारो प्रत्यारोपण सभाको आयोजना काठमाडौंमा गरेको छ ।
नेपाल, भारत, श्रीलंका, सिंगापुर र अमेरिकाका बोनम्यारो प्रत्यारोपण विशेषज्ञहरुको सहभागिता रहेको उक्त सभाको आयोजना निजामती कर्मचारी अस्पताल र इलिनोइस विश्वविद्यालयले संयुक्त रुपमा गरेको हो ।
दक्षिण एसियाभर नै बोनम्यारो प्रत्यारोपण आवश्यक भएका रगतका रोगी तथा क्यान्सर पीडितहरु बढिरहेको सन्दर्भमा यस क्षेत्रका सबै देश मिलेर संयुक्त उपचार पद्धतिको विकास गर्न सके बिरामीहरुले सहज उपचार पाउन सक्ने विचार सभामा उठेको थियो ।
सभाको उद्धघाटन गर्दै वरिष्ठ प्याथेलोजिष्ट जंगबहादुर थापाले नेपालमा यति छिट्टै बोनम्यारो प्रत्यारोपण सभा हुने आफूले कल्पना नगरेको बताउँदै यसले नेपालको बोनम्यारो प्रत्यारोपण सेवालाई विश्वस्तरमा चिनाउन मद्दत गर्ने अभिव्यक्ति दिएका थिए ।
उक्त सभामा सिंगापुरको राष्ट्रिय विश्वविद्यालय अस्पतालकी वरिष्ठ रगतरोग विशेषज्ञ डा. टान लिप कुनले प्रत्यारोपण गरिएका बिरामीमा देखिने इन्फेक्सन, भारतको भेलोरस्थित सीएमसी अस्पतालका वरिष्ठ रगतरोग विशेषज्ञ डा. विक्रम म्याथ्युजले अल्पविकसित राष्ट्रमा प्रत्यरोपण गरिएका बिरामीमा देखिने समस्या, श्रीलंकाको आसिरी केन्द्रीय अस्पतालमा कार्यरत डा. लालिन्द्रा गुणरत्नेले त्यहाँको प्रत्यारोपणको अवस्थाका बारे कार्यपत्र पेश गरेका थिए ।
यस्तै सभामा अमेरिकाको इलिनोइस विश्वविद्यालयका प्राध्यापक डा. डामियानो रोन्डेली, नेपालको निजामती कर्मचारी अस्पतालका वरिष्ठ रगतरोग विशेषज्ञ डा. विशेष पौड्याल, प्याथेलोजिष्ट डा. समिर न्यौपाने र सम्पूर्ण तुलाधरले पनि छुट्टा–छुट्टै विषयमा कार्यपत्र पेश गरेका थिए ।













