काठमाडौँ । प्रत्येक वर्ष जस्तै भाद्र कृष्ण प्रतिपदाका दिनदेखि अष्टमीसम्म मनाइने गाईजात्रा पर्व देशभर मनाइँदैछ ।
यो पर्व एक वर्षदेखि दिवङ्गत भएका आफन्तको सम्झनामा जनैपूर्णिमाको भोलिपल्ट आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराएर दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरी मनाइएको हो ।
राजा प्रताप मल्लले पुत्र शोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम गाईजात्राको प्रचलन चलेको जनश्रुति रहेको छ ।
आठ दिन मनाइने गाईजात्रा पर्व मल्लकालदेखि सुरु भएको हो । आज गाईजात्राका अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको थियो ।













