२२ जेठ ०८२, मोरङ । जिल्ला अदालत मोरङले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्षको कैद, ६७ करोड ५९ लाख जरिवाना सजायको फैसला भएको छ ।
बिहीबार मोरङ जिल्ला अदालतका न्यायाधीश सीता शर्मा अधिकारीको इजालासले सहकारी ठगी मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका शर्मालाई ६७ करोड ५९ लाख जरिवाना, सोही बराबर बिगो साथै राहत कोषमा २ करोड ७० लाख ३६ हजार ८ सय ५० रुपैयाँ तिर्नुपर्ने फैसला गरेको हो ।
सहकारीको सचिव सविना न्यौपाने र प्रबन्धक सन्दिप खवासलाई जनही २ वर्ष २ महिना कैद सजायको फैसला भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।
खवासलाई २७ लाख बिगो र २७ लाख नै जरिवानाको फैसला भएको छ । उनले पीडित राहत कोषमा उनले १ लाख ८ हजार जम्मा गर्नुपर्ने फैसला भएको छ । सहकारीका सचिव न्यौपानेको हकमा भने बिगो र जरिवाना तोकिएको छैन । पीडित राहत कोषमा ६ सय रुपैयाँ जम्मा गर्नुपर्ने अदालतको फैसला छ ।
अदालतले सहकारीकी उपाध्यक्ष अनिता गौतम र सञ्चालक आदित्यनाथ भट्टराईलाई भने सफाइ दिएको थियो । फरार रहेका सञ्चालक छविलाल विश्वकर्मा र बन्टी अधिकारीको मुद्दा भने मुल्तबीमा राखिएको छ ।
सहकारीका अध्यक्ष शर्मासहित ८ जनालाई प्रतिवादी बनाएर २०७९ साल चैत १२ गते ‘सहकारी संस्थाको रकम हिनामिना गरेको’ कसुरमा मुद्दा दायर गरिएको थियो ।













