२८ फागुन ०८१, विराटनगर । नेपाल विद्यार्थी संघले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको निर्वाचन कार्यालयमा आगजनी र तालाबन्दी गरेको छ ।
काँग्रेसको डा.शेखर कोइराला समूहले बुधबार दिउँसो निर्वाचन कार्यालयमा आगजनी गरी तालाबन्दी गरेको हो ।
डा. कोइराला समूहका विद्यार्थीले लगाएको ताला केही समयपछि प्रहरीले फोडेको थियो ।
मंगलबार स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको संस्थापन पक्षबाट प्रज्वल विष्ट र डाक्टर शेखर कोइराला समूहबाट योगराज दाहालले उम्मेदवारी दिएका थिए ।
मंगलबार अबेर राति सार्वजनिक अन्तिम उम्मेदवारको सूचीमा कोइराला समूहका उम्मेदवार दाहालको नाम स्वतन्त्र उम्मेदवारको सूचीमा थियो । संगठनको उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार बनाएको विरोधमा कोइराला समूहका विद्यार्थीले प्रदर्शन गर्दै तालाबन्दी गरेका हुन् ।
कोइराला समूहका विद्यार्थीले लगाएको ताला प्रहरीले फोडेको महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसका निर्वाचन अधिकृत सुशील अधिकारीले जानकारी दिए । उनका अनुसार आगो चाडै निभाएकाले क्षति भएको छैन ।













