१२ भदौ ०७७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
निमोनियाको समस्या रहेका उनको गत ९ गते मृत्यु भएपछि सोही दिन स्वाब परीक्षणका लागि पठाइएकोमा बिहीबार रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय ती पुरुषलाई ९ गते नै त्रियुगाबाट त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो ।
यस्तै विराटनगरमा दमको पुरानो समस्या समेत रहेकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
सिराहाको लाहान घर भई विराटनगर महानगरपालिका १० बस्ने, ६५ वर्षीया महिलाको शुक्रबार बिहान १०ः४५ बजे मृत्यु भएको हो ।
विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा भेन्टिलेटरमा राखेर उपचाररत् ती महिलाको मृत्यु भएको प्रमुख वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिएका छन् ।
ती महिलालाई बिहीबार कोरोना पोजेटिभ देखिएपछि राति १० बजे नै अस्पताल भर्ना गरिएको उनले बताए ।













