
दिनानाथ यादव/७ असार ०७७, सप्तरी । राजविराज १ स्थित राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट एक युवती पिसिआर परीक्षण रिपोर्ट नआउँदै भागेकी छन् ।
बिहीबार मध्यरात क्वारेन्टाइनबाट भागेकी १६ वर्षीया ती दुई महिनाको गर्भवती समेत रहेको क्वारेन्टाईनका इन्चार्ज एवं स्वास्थ्यकर्मी रिवंश यादवले बताए ।
शुक्रबार बिहान क्वारेन्टाइनमा बसेकाहरुको गणना गर्ने क्रममा उनी फरार रहेको खुलेको स्वस्थ्यकर्मी यादवले जानकारी दिए ।
“गर्भवती भएकाले ती महिलालाई छुट्टै कोठामा एक्लै राखिएको थियो,” उनले भने, “एक्लै भएकाले ढोका खोली रातिको समयमा विद्यालयको पछाडिपट्टी रहेको पर्खाल नाघेर भागेको हुनसक्ने अनुमान गरेका छौं ।”
परिवारिक श्रोतका अनुसार गत माघ १३ गते सीमावर्ती भारतको कमलपुर ग्राम पंचायतका एक युवासँग भागेर उनी दिल्ली गएको र जेठ २५ गते उनी एक्लै घर फर्केकी थिइन् । सोही दिन उहाँलाई क्वारेन्टाइनमा लगिएको थियो ।
प्रेमीलाई भेट्न भारतको कमलपुर पुगेको हुनसक्ने अनुमान

क्वारेन्टाइनमा बसेको ११ दिनपछि भागेकी ती युवतीको प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको वडाध्यक्ष अरुण यादवले बताए । क्वारेन्टाइनबाट भागेकी युवती चोर बाटो हुँदै प्रेमीलाई भेट्न भारतको कमलपुर पुगेको हुनसक्ने अनुमान गरिएको छ ।
डिएसपी तिलक भारतीले भागेको युवतीको माइत र अन्य आफन्त कहाँ खोजी गरिए पनि फेला नपरेको जनाउँदै खोजतलास जारिरहेको जानकारी दिए ।
यसअघि सोही कवारेन्टाइनबाट गत मंगलबार पिसिआर रिपोर्ट नआउँदै राजविराज १ निवासी ३२ वर्षीय युवक पनि भागेका थिए । भने, उनको कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रहरीले घरबाटै नियन्त्रणमा लिई आइसोलेशनमा पठाएको थियो ।
यस्तै बैशाख १९ गते पनि डाक्नेश्वरी नगरपालिकास्थित विद्यालयको क्वारेन्टाइनबाट एक १९ वर्षीय युवा भागेर घर पुगेका थिए । भोलिपल्टै छरछिमेकले सम्झाई बुझाई पुनः क्वारेन्टाइनमै फिर्ता पठाएको थियो ।
क्वारेन्टाइनबाट भागेकाहरु मध्ये सम्पर्कमा आएकाहरु अस्तब्यस्त क्वारेन्टाइनका कारण क्वारेन्टाइनभित्रै संक्रमण फैलिने खतरा देखिएको बताएका छन् । एक आशंकितले भभने, “कोरोना संक्रमणबाट ज्यान जोगाउनकै लागि क्वारेन्टाइनबाट आशंकितहरु भागेका हुन् ।”
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले क्वारेन्टाइनमा राखिएका आशंकितहरुको स्वाब संकलन तथा प्रारम्भिक उपचारका लागि स्वास्थ्यकर्मीहरु खटाइएको भन्दै सुरक्षाको जिम्मेवारी प्रहरीको रहेको बताए ।
क्वारेन्टाइन केन्द्र्रहरु अस्तव्यस्त रहेको भन्दै आशंकित भाग्ने क्रम बढेपछि त्रसित भएका स्थानीयले क्वारेन्टाइनहरुको उचित व्यवस्थापन र सुरक्षा सतर्कता बढाउनु पर्ने माग गरेका छन् ।













