गेरुवाका जनप्रतिनिधि, कर्मचारीलाई स्थानीय कानुन निर्माण तालिम

१८ जेठ ०८२, नेपालगञ्ज । गेरुवा गाँउपालिकाको आयोजना र वास नेपालको सहजीकरणमा पालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरुलाई स्थानीय कानुन निर्माण र गाँउ सभा सञ्चालन बिषयमा तालिम सम्पन्न भएको छ ।

बर्दियाको ठाकुरद्वारमा शनिबार र आइतबार गरी दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा नेपालका सरकारका पुर्व अर्थ सचिव तथा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरी बासकोटाले प्रशिक्षण दिएका थिए ।

तालिममा प्रशक्षिक बास्कोटाले सभाको बैठक र कार्यप्रणाली, सभाको ब्यवस्थापन सम्बन्धी कार्यबिधि, स्थानीय तहको योजना तर्जुमा तथा कार्यन्वयन, स्थानीय तहको न्यायीक कार्यसम्बन्धी ब्यवस्था, स्थानीय तहमा अख्तियारले औंल्याउने गरेको बेरुजुको अवस्था कम गर्ने रणनीतिक उपाय,, स्थानीय तहमा गठबन्धका बिभिन्न समिति र तिनका कर्तब्य तथा आपसी समन्वयको अबस्थाका बारेमा प्रशिक्षण दिएका थिए ।

त्यस्तै स्थानीय तहको नीति तथा कार्यक्रम र बजेटको अवस्था, स्थानीय तहमा कानुन निर्माण प्रक्रिया, स्थानीय तहमा सवारी साधनको प्रयोग तथा त्यसमा खपत हुने इन्धन सम्बन्धी कानुनी सीमा, स्थानीय तहले गर्ने खर्च सीमा, स्थानीय तहले उपलब्ध गराउने सेवा सुबिधाहरुको सीमा, स्थानीय तहको आन्तरिक खर्च प्रणालीको नियन्त्रण र कार्यपालिका र सभाको क्षेत्राधिकार र कानुनी मान्यता लगायतका बिषयमा दुई दिनसम्म तालिम दिइएको थियो ।

गेरुवा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, वडा नम्बर १ देखि ६ नम्बर वडाका वडा अध्यक्ष र सदस्यहरु, कार्यपालिका सदस्यहरु, पालिकाका विभिन्न शाखा प्रमुखहरु र कर्मचारीहरु गरी तालिममा ७० जनाको सहभागिता रहेको थियो ।