९ मंसिर ०८०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शनिबार राष्ट्रिय ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा डाक्टर गोविन्द केसीलाई गलत गिरोहले सञ्चालन गरिरहेको बताएका छन् ।
मन्त्री बस्नेतले चिकित्सा शिक्षा सुधारका अभियन्ताका रुपमा विभिन्न चरणमा आन्दोलन चलाएका डाक्टर केसीलाई गलत गिरोहले चलाएको आरोप लगाएका हुन् ।
गोबिन्द केसीको नाम उल्लेख नगरिकन उनले भने, ‘म अनसन बसिदिन्छु भन्नुहुन्छ एक जनाले । उहाँ बस्नुभएपछि तपाईहरु फेरि सेतो कोट लगाएर उहाँको बचाउमा हिँडिहाल्नुहुन्छ । किन हिँडेको भनेर मैले सोधेँ, साथीहरुले ज्यान जोगाइदिन, मान्छे मर्न लाग्यो भनेर कुरा हुन्छ ।’
डा.केसीलाई डाक्टरहरुले उनको आन्दोलन देश र जनताको अहित रहेको साथै उनलाई सञ्चालन गर्ने गिरोहहरु गलत छ भनेर भन्न सक्नु पर्ने बताउँदै मन्त्री बस्नेतले भने, ‘यो देशका लागि अहित छ, नेपाली जनताको लागि अहित छ । अब हामीले यो काम गर्नु हुँदैन । तपाई आफू ठिक मान्छे हो । तर तपाईलाई सञ्चालन गर्ने गिरोहहरु गलत छ भनेर भन्न किन नसक्ने ? अब भन्नुपर्छ तपाईहरुले ।’
मन्त्री बस्नेतले चिकित्सा शिक्षामा हालको नीति नियम परिवर्तन नगरे आगामी पाँच वर्षपछि देशमा डाक्टर र नर्स फेला पार्न कठिन हुनसक्ने बताए ।













