१६ फागुन ०७९, काठमाडौं । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ५२औं बैठकमा पूर्वकानुनमन्त्री गोविन्दप्रसाद कोइराला सहभागी भएका छन् ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोइराला स्वीट्जरल्याण्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदको ५२औं बैठकमा सहभागी भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको शान्ति तथा मानवधिकार सल्लाहकारको रुपमा परिषदको बैठकमा सहभागी भएको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ ।
कोइरालाले आज आयोजना हुने परिषदको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
फागुन २० गते समापन हुने मानवअधिकार परिषदको ५२औं बैठकमा १२५ भन्दा बढी देशका मन्त्री र विशिष्ट व्यक्तिहरु सहभागी छन् ।
एमाले नेतृ समेत रहेकी परराष्ट्रमन्त्री विमला राई पौड्याल यस बैठकमा सहभागी हुन जाने तयारीमा थिइन् । तर, अन्तिम समयमा उनको भ्रमण रोकिएको थियो ।













