
१५ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यति छिट्टै प्रतिगमनका विरुद्ध मैदानमा उत्रिनु पर्ला भनेर आफूहरुले नसोचेको बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा यही पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधिसभाको विघटन गरिसकेपछि नेकपाले मंगलबार राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
“हामीलाई लागेको थिएन यति छिट्टै प्रतिगमनका विरुद्ध मैदानमा उत्रिनु पर्ला भनेर,” उनले भने, “जनताले झण्डै दुई तिहाई मत दिएर निर्वाचित गरेको पार्टी केपी ओलीको विरुद्ध सडकमा आउनु पर्ला भनेर सोचेका थिएनौं । तर विडम्बना विरोध प्रदर्शनसहित सडकमा आएका छौं ।”

अध्यक्ष प्रचण्डले भने, “प्रतिगमनकाविरुद्ध, संविधानमाथि भएको क्रुर र निर्मम प्रहारका विरुद्ध, लोकतन्त्रमाथि भएको कठोर प्रहारका विरुद्ध र लोकतान्त्रिक प्रणालीका विरुद्ध भएका प्रहारका विरुद्ध हामी विश्वभरिमा नेपाली दिदीबहिनी दाजुभाइलाई पनि अपील गर्दैछौं, हामीले नै बनाएको प्रधानमन्त्री, पार्टीले अघि बढाएको प्रधानमन्त्रीबाट ७० वर्ष लामो संघर्ष र बलिदानबाट प्राप्त भएको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो भन्दै गर्दा म क्षमा याचना गर्न चाहन्छु ।”
सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले थपे, “मलाई थाहा थियो, उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो भन्ने कुरा । आम जनतालाई थाहा थियो उहाँको सिद्धान्त मालेवादको सिद्धान्त होइन बयलगाडावाला सिदान्त हो भन्ने कुरा । उहाँ संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता विरोधी हो भन्ने कुरा पनि थाहा थियो । तर, उहाँले भन्ने गर्नुहुन्थ्यो, आधिँ आयो हुरी आयो मैले पनि मान्दिएँ । जसलाई मैले विश्वास गरेको थिएँ । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र मान्नुभयो । जनताको आधिँहुरी आयो, आन्दोलनको महासागर आयो उहाँ त्यसैमा बगिदिएँ भन्नु हुन्थ्यो । तर आज घटनाक्रमले के पुष्टि गर्यो भने उहाँ बयलगाडामै हुनुहुन्छ । उहाँ हिजोकै गणतन्त्र विरोधी, संघीयता विरोधी, धर्मनिरपेक्षता विरोधी, समावेशी र समानुपाति सिद्धान्त र मान्यता विरोधी, प्रतिगमनकारी ठाउँमा नै हुनुहुन्छ भन्ने देखियो । यतिबेला तपाईंहरुसँग थोरै अप्ठ्यारो भएको छ, म क्षमा याचना भन्न चाहन्छु ।”













