१९ कार्तिक ०७९, भक्तपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनको घरदैलो गर्ने क्रममा नेपाली कांग्रेसका जगन्नाथ आचार्यले आफ्नो श्रीमतीको नाममा ल्याएको सार्वजनिक जग्गा रहेको स्थानमा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेका छन् ।
पूर्वभुमी सुधारमन्त्री आचार्यले आफू मन्त्री भएको समयमा मध्यपुर थिमी नगरपालिका वडा नं. ३ को सागबारीमा रहेको हनुमन्ते नदीको जग्गा आफ्नो श्रीमतीको नाममा ल्याएका थिए ।
आफ्नो कान्छी श्रीमती विमली उपाध्यायको नाममा रहेको उक्त हनुमन्ते नदीको ५५ रोपनी सार्वजनिक जग्गालाई श्रीमतीको नाममा लगेपछि उक्त जग्गाको विवादकै कारण हाल निर्माणाधीन हनुमन्ते करिडोर समेत निर्माण सम्पन्न हुन सकेको छैन् । उक्त जग्गा रहेको स्थानमा आज नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम आयोजना गरेका हुन् ।
घरदैलोमा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत, समानुपातिक उम्मेदवार गोविन्द दुलाल, प्रदेशसभा ‘ख’का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, समानुपातीक उम्मेदवार सकुन्तला श्रेष्ठ, एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, बागमती प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ लगायतका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो ।
घरदैलोका क्रममा उम्मेदवार बस्नेतले नदीको उक्त ५५ रोपनी जग्गा पुन सार्वजनिक बनाई हनुमन्ते करिडोर निर्माण गर्ने बताए ।















