८ पुस ०८२, काठमाडौं । नेपाली कांग्रेसले घोषित मिति फागुन २१ मा प्रतिनिधि सभाको निर्वाचन हुनेमा आशंका रहेको बताएका छन् ।
मंगलबार पार्टी कार्यालय निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारी राजनीतिक वार्ता समितिसँगको छलफलमा काँग्रेस उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरूले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
जेनजी अगुवा सुदन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने बताएको भन्दै उनले वर्तमान सरकार निर्वाचन गराउन लागिपरेको भन्नेमा आशंका उब्जाएको बताए ।
‘यहाँहरूको प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौँ भनेपछि हामीले के भन्नु ? हाम्रो के लाग्छ । केही न केही त छ । आशंका झन बलियो बनायो,’ उनले भने ।
उनले निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने भन्दै सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप समेत लगाए ।
‘निर्वाचन फागुन २१ मा हुँदैछ भनिएको छ, सबै राजनीतिक दलहरू उपस्थित हुने र त्सहभागी बन्ने स्थिति सिर्जना गर्नुपर्छ,’ उनले भने, ‘१० बुँदे सम्झौता गर्नेहरूले नै सम्झौताको मसी सुक्न नपाउँदै निर्वाचन हुन दिँदैनौँ भनिरहेका छन् । सम्झौता त यहाँहरूकै अघि च्यातिएको छ । के भइरहेको छ । नच्यात्ने पक्षले चुनाव हुन दिन्नौँ भनिसके । त्यसप्रति कतिको गम्भीर हुनुहुन्छ, हामी ध्यानपूर्वक हेरिरहेका छौं ।’













