चलचित्र ‘मिरमिरे’को छायाङ्कन सुरु

काठमाडौं । चलचित्र ‘मिरमिरे’को छायाङ्कन सुरु गरिएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम शुक्रबार काठमाडौंबाट छायाङ्कनका लागि निस्किएको थियो ।

निर्माणपक्षले आज शनिबार पनौती नगरपालिका ११ बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय परिसरमा क्यामेरा पूजा गर्दै चलचित्रको छायाङ्कन सुरु गरेको हो ।

काभ्रेपलाञ्चोकबाट छायाङ्कन सुरु गरिएको ‘चलचित्र ‘मिरमिरे’को निर्देशक यम शेर्पाले भने, “करिब ३५ दिन खिच्ने छौँ, जसको अधिकांश छायाङ्कन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।”

यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन् ।

चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

प्रकाश र दयाहाङको यो पहिलो सहकार्य हो । यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए ।

निर्माणपक्षले चलचित्रको कथा बारे केही खुलाउन चाहेका छैनन् । ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । चलचित्रका छायाँकार आलोक शुक्ला हुन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

सुदिप कुँवरको मुख्य सहायक निर्देशक रहेको चलचित्रमा सञ्जु थलाङ लिम्बुको मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।