
१७ साउन ०८२, काठमाडौं । अखिल नेपाल सेक्युरिटी मजदुर संघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक चारमहिने कार्ययोजना पारित गर्दै सम्पन्न भएको छ ।
शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बसेको संघको तेस्रो पूर्ण बैठकले मूल कमिटी, महानगर, जिल्ला र प्रदेश कमिटीको बैठक बसेर “एकदिन, दुई सदस्य” नारासहित चार महिनाभित्र ४ हजार ८० नयाँ सदस्य थप गर्ने निर्णय गरेको हो ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघ केन्द्रीय समितिको पूर्ण बैठक अघि बसेको पदाधिकारीको तयारी बैठक
संघका केन्द्रीय अध्यक्ष खगेन्द्र धिमालले बैठकपछि दिएको जानकारीअनुसार मूल कमिटी, महानगर, जिल्ला कमिटीहरु गठन तथा पुनर्गठन गर्ने, नयाँ सदस्यता बितरण र नवीकरण गर्ने साथै योगदानमा आधारित सामाजिक सुरक्षा कोष योजना कार्यान्वयन नगर्ने प्रतिष्ठानहरुमा संघर्षको अभियान अघि बढाउने निर्णय बैठकले गरेको छ ।
हालै बृद्धि भएको न्यूनतम पारिश्रमिक मजदुरको पक्षमा नरहेको भन्दै अध्यक्ष धिमालले सोको कार्यान्वयन तलबमान बृद्धि गर्नेहरुलाई नै गर्न लगाउने र जीवनोपयोगी पारिश्रमिकका लागि सेक्युरिटी मजदुर संघले संघर्षलाई निरन्तरता दिने बताए ।
उनले यस बैठकले संघका बरिष्ठ उपाध्यक्ष मानबहादुर थिङको संयोजकत्वमा ५ सदस्यीय परियोजना परिचालन कमिटी गठन गरेको पनि बताए ।

प्रादेशिक रिपोर्टिङ्ग र केन्द्रीय सदस्यहरुको धारणा सकिएसँगै उक्त बैठकमा महासंघका केन्द्रीय अध्यक्ष जगतबहादुर सिम्खडा, वरिष्ठ उपाध्यक्ष धनबहादुर विक, उपाध्यक्ष एसबी थापामगर, महासचिव शालिकराम काफ्ले, सचिव लक्ष्मी ढकाल साथै सचिवालय सदस्य रुद्र गौतमले आगामी दिनमा संगठनले गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन कार्ययोजनासहित तहगत नेताहरुले बदल्नु पर्ने सांगठनिक जीवनशैली, अपनाउनु पर्ने कार्यशैलीबारे वैचारिक, राजनीतिक तथा सांगठनिक प्रशिक्षण मन्तव्य राखेका थिए ।
सो बैठक अखिल नेपाल सेक्युरिटी मजदुर संघका केन्द्रीय अध्यक्ष खगेन्द्र धिमालको अध्यक्षता साथै महासचिव विजयराज ठकुरीको सञ्चालनमा भएको थियो ।














