२३ माघ ०८१, चितवन । चितवन राष्ट्रिय निकुञ्जको बनकट्टादेखि कसरासम्मको हुलाकी सडकखण्ड बिहिबारदेखि २४सै घण्टा खुला गरिएको छ ।
जिल्लाको माडी नगरपालिका जान बिहीबारदेखि चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा खुला गरिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जनताको माग र आवश्यकतालाई हेरेर परीक्षणको रुपमा चारपाङ्ग्रे सवारीलाई २४सै घण्टा चल्न दिने गरी निकुञ्ज लचक भएको बताए ।
निकुञ्जको मुख्य कार्यालय कसरादेखि माडीको रिउपुलसम्म करीव १० किलोमिटर सडक निकुञ्जभित्र पर्दछ । निकुञ्जले यसअघि राती १० बजेदेखि ४ बजेसम्म निकुञ्ज क्षेत्र भएर यात्रा गर्न रोक लगाएको थियो ।
निकुञ्जले मोटरसाइकल लगायतका दुईपाङ्ग्रेलाई भने रातको बेलामा सो सडक भएर जान नपाउने नियमलाई यथावत् राखेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा, नेपाली सेनाको नयाँ गोरख गण कसराका मेजर जीवन बिष्ट, माडी नगर उपप्रमुख खेमप्रसाद महतो, माडी १ का वडाध्यक्ष अमित कुमार लामा, भरतपुर २३ वडाध्यक्ष दीपक दवाडी, निकुञ्जको माडी बगहीँ सेक्टर संयोजक नारायणदत्त सापकोटा, उपभोक्ता समिति तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको बैठकले यस्तो सहमति गरेको हो ।













