चुनपहराको सडक अवरोध आजदेखि हट्यो, सडक निर्माण जारी

८ चैत ०८१, तनहुँ । पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डस्थित तनहुँको बन्दीपुर गाउँपालिका–४ बिमलनगर चुनपहराको सडक अवरोध आजदेखि हटेको छ ।

राजमार्ग विस्तारका क्रममा विगत एक महिनादेखि भइरहेको आंशिक अवरुद्ध सडक आजदेखि नियमित भएको हो ।

विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा चट्टान कटानको काम गर्न यातायात एक महिनादेखि आंशिकरूपमा बन्द गरिएको थियो ।

यातायात व्यवस्था कार्यालय विमलनगरबाट नयाँ पुलसम्म ५०० मिटर खण्ड आंशिकरूपमा बन्द गरिएकामा आजदेखि सहजरूपमा सवारीसाधन सञ्चालन हुने बताइएको छ ।

मुग्लिङ–पोखरा सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर विष्णुप्रसाद पाण्डेले अवरोध हटे पनि निर्माणको काम भने जारी रहेकाले आंशिकरूपमा करिब १५ मिनेटसम्म अवरोध हुनसक्ने बताए ।