२ असार ०७७, काठमाडौं । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले रुकुम पश्चिम चौरजहारी–८ मा ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्नलाई कानुनी कारबाही गर्न सिफारिस गरेको छ ।
गृह मन्त्रालयद्वारा सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले ३४ जनालाई सो घटनाको प्रतिवादी बनाएको छ ।
मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उक्त घटनाको विस्तृत छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन मन्त्रालयमा पेस गरिएको बताइएको छ ।
नेपाल प्रहरीले पनि सो घटनाका बारेमा चौरजहारी नगरपालिका–८ का अध्यक्ष डम्बरबहादुर मल्लसहित डिल्ली मल्ल, प्रेम ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्र मल्ल लगायतका ३४ जनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रहरीले वडाध्यक्ष मल्लसहित १२ जनामाथि जातीय विभेद तथा छुवाछूत कसुर अनुसारको थप कानुनी कारबाहीको माग गरिएको छ ।













