१३ भदौ ०८२, काठमाडौं । आज बिहान काठमाडौंको जडीबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा दुईजना युवकको मृत्यु भएको छ ।
बिहान करिब पौने तीन बजेतिर जडीबुटीको आकासे पुल नजिकै रोकिराखेको बागमती प्रदेश ०१–००६ ख ४२४३ नम्बरको बसमा कोटेश्वरबाट जडीबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना हुँदा स्कुटुरमा सवार दुई जना युवकको मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनामा स्कुटर चालक पश्चिम नवलपरासीको सुनवल नगरपालिका १ घर भई हाल भक्तपुरको लोकन्थली बस्ने २२ वर्षीय शिरीष पौडेल र काभ्रेको पाँचखाल–२ होक्से घर भएका २३ वर्षका नितेश नेपालको नेपाल राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको बताएको छ ।













