११ असोज ०७९, विराटनगर । एमाले परित्याग गरी केही दिन अगाडि माओवादी केन्द्रमा प्रवेश गरेका मोरङ बुढीगंगाका नेता बदभद्र सरदार थारुले एमालेले राजनीतिक रुपमा पराजीत भएपछि आफूलगायतको चरित्र हत्या गरेको बताएका छन् ।
सरदारले एक विज्ञप्ति जारी गरी आफूले एमाले परित्याग गरेपछि नियोजितरुपमा आफ्नो चरित्रहत्यामा उत्रिएको बताएका हुन् ।
‘हामीमाथि मानहानी हुने गरी गालीगलौजको स्तरमै तल गिरेर प्रस्तुत हुनु केबल हारको मानसिकता, अराजकता र अराजनीतिक चरित्र बाहेक अरु केही पनि नभएको पुष्टि हुनजान्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेकपा एमालेको एउटा झुण्डबाट भएको यो ढंगको क्रियाकलापबाट हामीले लिएको निर्णय वास्तवमा सही निर्णय रहेछ भन्ने सहजै बुझ्न सकिन्न र ? यसबाट हामी थोरै पनि विचलित नभई अझ उर्जाका साथ अगाडि बढ्ने प्रण पनि गर्दछौं ।’
उनले एमालेमा आबद्ध सबैले बेलैमा सही निर्णय लिन पनि अपिल गर्दै नेकपा एमाले भन्ने पार्टी केबल स्वार्थी समूहको झुण्ड मात्र रहेको र गरिव, उत्पीडित वर्गको पार्टी नहरेको कारण एमालेको भविष्य खोज्नका निमित्त केवल दास बन्नुपर्ने अवस्था रहेको पनि बताएका छन् ।
‘अब नेकपा एमालेबाट समाजवादी क्रान्ति सम्पन्न हुन सक्दैन, कम्युनिष्ट आन्दोलनको नेतृत्व हुन सक्दैन र अब यो केही व्यक्तिहरुको गरिखाने भाँडो मात्रै रहयो,’ विज्ञप्तिमा भनिएको छ, ‘अब हामीजस्ता जनताको सुखदुःखमा अहोरात्र खटिने भूमिपुत्रहरुलाई एमालेमा कुनै स्थान छैन ।’
सरदारले परिवर्तनको संवाहक, थारु मधेशी, दलित, जनजाति, महिला, मुस्लिमलगायत उत्पीडित वर्गको हक हितका लागि ज्यानको बलिदानी दिनसक्ने पार्टी नेकपा माओवादी केन्द्र र यसको नेतृत्व प्रचण्ड नै हो भन्ने ठानेर सो पार्टीमा प्रवेश गरेको पनि स्पष्ट पारेका छन् ।













