जनयुद्ध, २०६२/०६३ को जनआन्दोलनको योगफल, नेपालको संविधान : प्रधानमन्त्री

३ असोज ०८०, काठमाडौं । आज राष्ट्रिय पर्व अर्थात् संविधान दिवस: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक शुभकामना सन्देश जारी संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् ।

महान् दश वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलन योगफलको रूपमा संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सहिदहरूले देखेको सुन्दर र समृद्ध नेपालको सपनालाई साकार पार्न अघि बढ्नुपर्ने भन्दै शुभकामना व्यक्त गरेका हुन् ।

“संविधानसभाबाट संविधान निर्माण नेपालमा ऐतिहासिक परिघटना हो । महान् दश वर्षे जनयुद्ध, २०६२/०६३ को जनआन्दोलनलगायत राजनीतिक परिवर्तनका लागि भएका तमाम् आन्दोलनको योगफलको रूपमा नेपालमा संविधानसभाबाट संविधान जारी भएको हो,” शुभकामना सन्देशमा भनिएको छ, “स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै सहिदहरूले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उहाँहरूले देखेको सुन्दर र समृद्ध नेपालको सपनालाई साकार पार्न हामी सबैलाई यस अवसरमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।”