जनयुद्ध दिवस : सदियौँदेखिको उत्पीडन र शोषणविरुद्ध विद्रोह सुरु गरेको दिन

१ फागुन २०८१, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसलाई नेपाली जनताले सदियौँदेखिको उत्पीडन र शोषणविरुद्ध विद्रोह सुरु गरेको दिनका रुपमा स्मरण गरेका छन् ।

जनयुद्धको ३०औं वर्षगाँठको शुभकामना सन्देशमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन ।

‘नेपाली जनताको ऐतिहासिक संघर्ष र शहीदहरूको बलिदानको सम्मान गर्दै आगामी यात्राका लागि सङ्कल्प गर्ने दिन हो,’ शुभकामना सन्देशमा भनिएको छ, ‘अहिलेको पुस्तालाई जनयुद्ध किन आवश्यक थियो र यसले के उपलब्धि हासिल गर्यो भन्ने प्रश्न मनमा लाग्न सक्छ । यो प्रश्न गर्दा जनयुद्ध नभएको भए हामी कहाँ हुन्थ्यौं भन्ने कुरा बुझ्नु जरुरी हुन्छ । यो देशमा सामन्ती शोषण थियो । एउटा वंश र त्यसको वरिपरि घुम्ने सामन्तहरूले जनताको भाग्यको फैसला गर्ने गर्दथे ।’

दलित, महिला, आदिवासी जनजाति, मधेशी, मुस्लिम, थारु लगायतका वर्ग र समुदायमाथि चरम विभेद र उत्पीडन रहेकाले त्यो स्थितिमा टालटुल र सुधार गरेर समाजको आमूल रूपान्तरण सम्भव नरहेको भन्दै उनले यसका विरुद्ध प्रतिरोधको अनिवार्यता नै जनयुद्धका रूपमा प्रकट भएको बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘इतिहासमै पहिलोपटक युगौँदेखि दबाइएका दलित, जनजाति, मधेसी, थारु, महिला, मुस्लिम, सुदूरपश्चिम र कर्णालीबासी लगायत उत्पीडित समुदाय र क्षेत्रसहित आम जनता आफ्ना अधिकारको रक्षाका लागि संघर्षमा होमिए । जनताले यो स्तरको प्रतिरोध नगरेको भए हामी अहिले पनि सामन्ती शोषणमै हुने थियौं ।’

राजनीतिक अधिकारदेखि समाजमा जनयुद्धले चेतनाको विकास गराएको भन्दै उनले जनयुद्ध आधुनिक नेपाली राजनीतिको एक महान् परिघटना भएको बताए ।