जनसंख्या बराबरी तालिमहरु सञ्चालन तर उपलब्धि शून्य – एसबी थापामगर

५ भदौ ०८०, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका उपाध्यक्ष एसबी थापामगरले नेपाल सरकार र तालिम प्रदायक संघ, संस्थाले देशको जनसंख्या जति छ त्यतिनै संख्यामा तालिमहरु सञ्चालन गरेको तर उपलब्धि शून्य भएको बताएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सीप विकास तथा तालिम शाखाले सोमबार मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा  महासंघका उपाध्यक्ष थापाले यति सानोमुलुकबाट रोजगारीका लागि विदेशिने नागरिक बढ्दोक्रममा रहेको तर विदेशी दक्ष कामदार ल्याउनुपर्ने अवस्था रहेको भन्दै यस्तो बताएका हुन् ।

सरकारी, गैरसरकारी लगायत तालिम प्रदायक संघ, संस्थाले विभिन्न कार्यक्रममार्फत् हरेक वर्ष सीपमुलक तालिमहरु सञ्चालन गरेतापनि उपलब्धि शून्य भएको बताउँदै उनले भने, “सरकार र सरकारका बिभिन्न निकायहरु संघदेखि स्थानीय तहसम्म साथै एनजीओ, आइएनजीओ, संघ, महासंघ लगायतका संस्थाहरुले आजसम्म जनसंख्याकै हाराहारीमा तालिम मात्रै सञ्चालन गरिसकेका छन् तर दक्ष जनशक्ति नत उत्पादन भए, नत सीप परीक्षण भए हरेकवर्ष ५ लाखभन्दा बढी हाम्रो शिक्षा प्रणालीले बेरोजगार उत्पादन गरिरहेको छ । तालिमका नाममा ‘बजेट’ खर्च गर्ने परम्पराको अन्त्य गरिनु पर्दछ ।”

यस्तै उपाध्यक्ष थापाले जबसम्म विद्यालय र विश्वविद्यालयको शिक्षालाई सीपसँग जोडेर प्रयोगात्मक र प्रविधिमैत्री बनाइँदैन, सीप र प्रविधिलाई श्रम र उत्पादनमा जोडिदैन, जहिलेसम्म उत्पादनलाई बजारसँग जोड्ने गरी सीप विकास तालिम सञ्चालन गरिदैन तबसम्म तालिमपछि तालिम दिइने, तालिममा सहभागी हुने पात्र सधैंभरि दोहोरिरहने साथै दक्ष प्रशिक्षकको अभावमा दक्ष कामदार समेत उत्पादन नहुने हुँदा समृद्धि र सामाजिक न्याय नाममा मात्रै सीमित हुने बताए ।

२०५० सालदेखि यतामात्रै एसएलसी र एसईईको तथ्यांकलाई हेर्दा पनि कम्तीमा नेपाली श्रमबजारमा १ करोड ५० लाख श्रमशक्ति आइसकेको तर उनीहरुमध्ये अधिकांश बैदेशिक रोजगारीमा जान बाध्य हुनु परेको बताउँदै उपाध्यक्ष थापाले आजको अवस्था अन्त्य गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष पहल लिनुपर्ने साथै अन्तरमन्त्रालय समन्वय गरी कृषि, पर्यटन, यातायात, निर्माण, उर्जा र विशेषत हरित रोजगारी लगायत उद्योगका लागि नेपाली दक्ष कामदार उत्पादन गर्न विषयगत पाठ्यक्रम बनाएरै कार्यस्थलमै सीप विकास तालिमहरु सञ्चालन गर्नुपर्ने सुझाव समेत दिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको प्रमुख आतिथ्यमा भएको उक्त अन्तरक्रियात्मक कार्यक्रममा राष्ट्रिय योजना आयोग, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, व्यवसायिक सीम विकास तालिम प्रतिष्ठान, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र, युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय, बैदेशिक रोजगार बोर्ड, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, उद्योग वाषिज्य महासंघ संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, अन्तर्राष्ट्रिय श्रम संगठन लगायतको प्रतिनिधिहरुको सहगागिता रहेको थियो ।