
काठमाडौँ/केके मानन्धर । नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेत्री माहोको अभिनय देख्न सकिने भएको छ ।
विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘अफलाइन लभ’मा अभिनय गरेकी उनले नेपाली टेलिचलचित्रमा काम थालेकी हुन् ।
जापानी अभिनेत्री माहोको अफलाइन लभ सिरिज पछिल्लो समय दर्शकहरुको प्रशंसाको विषय बनेको छ । विश्वकै प्रतिष्ठित फेसन प्लेटफर्म पेरिस फेसन विकमा सहभागी रहेकी माहो मोडलिङ क्षेत्रमा समेत उतिकै सक्रिय छिन् ।

फेसन र डिजिटल दुनियाँका ख्यातिप्राप्त उनको अभिनय रहेको मनको बाँध बैशाख ६ गते शनिबार यूट्युब च्यानल फोकस पिक्चर्समार्फत् देख्न सकिनेछ । नेपाली टेलिचलचित्र मनको बाँधको नयाँ अंक बेलुकी ७ बजे प्रशारण हुँदैछ ।
निर्देशक प्रदीप खड्गीले भने, ‘कोठा भाडामा बस्ने सामान्य परिवारको कथा बस्तुमा तयार गरिएको नेपाली टेलिचलचित्रमा अन्र्तराष्ट्रिय ख्यातिप्राप्त कलाकारको अभिनय जोड्न पाउनु खुसीको विषय हो ।’

नेपाली रंगमन्चमा विदेशी कलाकारहरुको डेब्यू गराएर टेलिचलचित्रमा पृथक गर्न खोजिएको निर्देशक खड्गीको भनाइ छ । उनले यसअघि नेपाली ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, नेपाली थ्रीलर मुभि अपीच्य, बहुभाषी चलचित्र हिमआँधी लगायतका ठूला पर्दाका चलचित्र निर्देशन गरिसकेका छन् ।













