जीवन उपयोगी ज्ञानमा अनुभवले ८० प्रतिशत भूमिका खेल्छ – डा. दिपक बास्तोला

ललितपुर । इन्जिनियर डा. दिपक प्रसाद बास्तोलाले देश विकासमा इन्जिनियरको नेतृत्व अपरिहार्य रहेको बताएका छन् ।

इन्जिनियर डा.बास्तोलाले एभरेष्टमा इन्जिनयरिङ कलेज सानेपा ललितपुरमा सोमबार भएको छलफल कार्यक्रमका जीवन उपयोगी ज्ञानमा पढाइले १० प्रतिशत, सोच र चिन्तनले १० प्रतिशत र अनुभवले ८० प्रतिशत भूमिका खेल्ने भन्दै यस्तो बताएका हुन् ।

“जीवन उपयोगी ज्ञानमा पढाइले १० प्रतिशत, सोच र चिन्तनले १० प्रतिशत र अनुभवले ८० प्रतिशत भूमिका खेल्दछ,” उनले भने, “आआफ्नो विधामा अनुभव प्राप्त व्यक्तिको सदुपयोग गर्न र सफल नेतृत्वको लागि दीर्घकालिन मन बचन र कर्ममा तादात्म्यता हुनु अत्यावश्यक छ ।”

उनले त्यसैको परिणाम स्वरूप बेलायतका तत्कालीन राजकुमार ह्यारीको नेपाल भ्रमणको समयमा ह्यारी चढ्ने हेलिकप्टर उडाउने जिम्मेवारी आफूलाई दिइएको घटना पनि स्मरण गरे ।

अन्तर्राष्ट्रिय उडान क्षेत्रमा सुरक्षाको हिसाबले नेपाल अझै ब्ल्याक लिष्टमा परेकोमा दुःख व्यक्त गर्दै नेपाललाई ब्लाक लिष्टबाट हटाउन इन्जिनियरको भूमिका सर्वोपरि हुने उनले बताए ।

डा. बास्तोलाले एभरेष्ट इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङ विषयमा अन्तिम सेमेष्टरमा अध्ययनरत ५० जना विद्यार्थीहरूसँग छलफल गर्दै आफूले तीन दशक भन्दा बढी नेपाली सेनामा गरेको काम, ५००० घण्टा हेलिकप्टर उडाएको, आठ पटकको लगातार प्रयासबाट फ्रान्सको पेरिसमा उच्च अध्ययनको लागि पाएको छात्रवृत्ति, काठमाडौं विश्वविद्यालयबाट नेतृत्व तथा संस्थागत कार्यसम्पादन विषयमा विद्यावारिधि, अन्तर्राष्ट्रिय एभिएसन विज्ञको लाइसेन्स, हेलिकप्टर उडान प्रशिक्षकको लाइसेन्स प्राप्त साथै पाँच वटा पुस्तक लेखेको जस्ता थुप्रै गहिरो अनुभव साटासाट गरेका थिए ।

डा. बास्तोलाले श्रमको कदर गर्न, पेशाको गरिमा कायम गर्न र कार्यक्षेत्रमा सक्रिय रहुन्जेल आफ्नो सिपलाई निरन्तर अद्यावधिक गर्न विद्यार्थीहरूलाई सुझाए ।

विद्यार्थीहरूका प्रश्नोत्तर पश्चात् कलेजको तर्फबाट सिभिल विभाग प्रमुख इन्जिनियर रोमहर्ष ओली र कलेजका प्राचार्य इन्जिनियर प्रा.डा. हरिकृष्ण श्रेष्ठले डा. बास्तोलालाई कलेजको तर्फबाट मायाको चिनो उपहार प्रादन गरेका थिए ।