जेनजी आन्दोलनका क्रममा लुटपाट र आगजनी गर्नेलाई कारवाहीको माग

२० असोज ०८२, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ लगायत उद्यमीहरूले जेनजी आन्दोलनका क्रममा निजी व्यवसायी क्षेत्रमा तोडफोड र आगजानी गर्नेहरूमाथि कारवाही गर्न माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले सरकारको ध्यानाकर्षण गराउँदै तोडफोड र आगजानी गर्नेहरूमाथि कारवाहीको माग गरेको हो ।

अर्थमन्त्री रामेश्वर खनालसँगको भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल, परिसंघ अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले सुरक्षाको प्रत्याभूति एवं दण्डहीनता मौलाउन नदिने विषयमा ध्यानाकर्षण गराएका हुन् ।

जेनजी आन्दोलनका क्रममा भएको घुसपैठ र लुटपाट तथा आगजनीमा संलग्नमाथि कारवाही हुन नसकेमा निजी क्षेत्र थप निरुत्साहित हुने बताएका थिए ।

सो भेटमा अर्थमन्त्री खनालले निजी क्षेत्रको मनोबल बढाउन सरकार निरन्तर प्रयत्नशील रहेको बताएका थिए ।