
२९ असोज ०८२, काठमाडौं । जेन–जीको आवरणमा सरकारी कार्यालयमा उच्च पदस्थ कर्मचारीहरुलाई धम्क्याउँदै हिँड्ने अर्जुनबहादुर शाही पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शाहीलाई प्रहरीले काठमाडौंको कोटेश्वरबाट पक्राउ गरेको बताएको छ ।
यिनी शाही विभिन्न अपराधिक मुद्दामा फरार देखिएको र अब अनुसन्धानको अन्य प्रक्रिया अघि बढाइने एसपी पवन भट्टराईले बताए ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय शाहीको टोलीले केहीदिन अघिमात्रै नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।
एसएलआर लुट्ने राजु परियार पक्राउ
यस्तै जेनजी प्रदर्शनको क्रममा प्रहरीको एसएलआर ‘सेल्फ लोडिङ राइफल’ लुट्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१३ कुसुन्ती घर भएका ३६ वर्षीय राजु परियार उर्फ सम्राट् रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखाले उनलाई मंगलबार सुनाकोठीबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको छ ।
परियारले एसएलआर बोकेर सिंहदरबार मुलगेटमा प्रदर्शन गरेको फोटो र भिडियो सामाजिक सञ्जालमा भेटिएको थियो ।
परियारविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एक अधिकृतले जानकारी दिएको छ ।
उक्त भिडियोमा प्रदर्शन गरेको हतियार परियारले नेपाली सेनालाई बुझाएको प्रहरीलाई बताए पनि हतियार बुझाएको प्रमाण नभेटिएको अनुसन्धानमा संलग्न अधिकृतले जानकारी दिएका छन् ।
विभिन्न प्रहरी कार्यालयबाट यिनीविरुद्ध ज्यान मार्ने उद्योग, ठगी, अभद्र व्यवहार र बैंकिङ कसुर लगायत ८ वटा मुद्दा चलेको अपराध रेकर्ड सिस्टममा देखिएको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँबाट उनीविरुद्ध २०६४ मा ज्यान मार्ने उद्योग, प्रहरी परिसर ललितपुरबाट २०७० मा ज्यान मार्ने उद्योग, प्रहरी वृत्त नयाँ बानेश्वरबाट २०७० मा ठगी र २०७९ मा महाराजगन्जबाट बैकिङ कसुर मुद्दा चलेको भेटिएको छ ।
यस्तै २०८० साउनमा ललितपुर परिसरबाट ठगी र २०६५ मा अभद्र व्यवहार सम्बन्धी मुद्दा चलेको भेटिएको छ । २०७५ मा प्रहरी वृत्त नयाँ बानेश्वरबाट अभद्र व्यवहार र २०७१ मा स्वयम्भूबाट ठगी सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भएको भेटिएको छ ।













