जेन-जी प्रदर्शनमा एसपीको बर्दी लगाउने युवक प्रहरी नियन्त्रणमा

१ असोज ०८२, पोखरा । प्रहरी उपरीक्षक (एसपी)को बर्दी लगाएर जेन-जी प्रदर्शनमा पोखरामा सहभागी एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्कीमा भदौ २४ गते जिल्ला प्रहरी कार्यालय आगजनी भएपछि एक जना युवकले एसपी श्यामबावु ओलियाको बर्दी लगाएर हिँडेको भिडियो सामाजिक सञ्जालमा आएपछि उनलाई पक्राउ गरिएको हो ।

एसपीको बर्दी लगाउने रुकुम पूर्व घर भएका दिपेश शाही ठकुरी रहेको बुझिएको छ । उनलाई नियन्त्रणमा लिएर प्रहरीले सार्वजनिक अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको प्रहरी स्रोतले बताएको छ ।

यद्यपि, कास्कीका एसपी श्यामबावु ओलियाले जेनजी प्रदर्शनमा संलग्न कसैलाई पनि नियन्त्रणमा नलिएको दाबी गरेका छन् ।

‘हामीले अपराध नियन्त्रणमा आफ्नो दैनिक काम सुरु गरेका छौँ,’ उनले भने, ‘कोही पनि पक्राउ परेका छैनन् ।’