३ जेठ ०८२, पोखरा । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार हुँदा ४ जना घाइते भएका छन् ।
पाँचौँ जिल्ला अधिवेशनको विवादमा एउटा समूहले अर्को समूहलाई खुकुरी र हातहतियारले प्रहार गरेपछि ४ जना घाइते भएका हुन् ।
अधिवेशनको उद्घाटन सत्रमा बेसीसहर बजारमै भएको खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य शंकर सापकोटा घाइते भएको प्रहरीले बताएको छ ।
गम्भीर घाइते बनेका खुसीजंग र सुदीलाई थप उपचारका लागि चितवन रिफर गरिएको छ । उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ । अन्य दुई जनाको भने लमजुङ जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।













