त्रिविद्वारा विद्यार्थीलाई अंक थपेर स्नातकोत्तर डिग्री दिएको स्वीकार

१८ असार ०७६, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा अंक बढाई तलमाथि पारेको विषयमा शिक्षा तथा स्वस्थ्य समितिका सभापति जयपुरी घर्तीले समितिमा छलफल गरेकी छन् ।

मंगलबार यस विषयमा त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई अंक थपेर स्नातकोत्तरको डिग्री दिएको स्वीकार गरेको छ । बैठकमा रजिष्टार डिल्लीराम उप्रेतीले ९ अंक ल्याएका विद्यार्थी सुरेन्द्र कोइरालालाई ६० नम्बर थपेको स्वीकार गरेका हुन् ।

कर्मचारीले नम्बर बढाउनु संस्थागत नभई व्यक्तिगत त्रूटि भएको भन्दै रजिष्टार उप्रेतीले भने, ‘यो संस्थागत नभई व्यक्तिगत त्रूटि हो । ९ नम्बर मात्रै ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर पास गर्नु गम्भीर त्रूटि मात्रै नभएर दुर्घटना नै भन्न चाहन्छु ।’

बैठकमा उनले मार्क स्लीपमा चाहिँ ९ नम्बर नै मात्रै रहेको प्रिन्ट कपी देखाउँदै भने, ‘मानविकी संकायका गोप्य शाखाका प्रमुखले नम्बर इन्ट्री गर्ने बेला ९ नम्बर ल्याएका कोइरालालाई ६९ बनाइदिनु भएछ ।’

समाजशास्त्र, अर्थशास्त्र र ग्रामीण विकास विषयमा स्नातकोत्तर डिग्री लिएका विद्यार्थी कोइरालाको प्रत्येक विषयमा ५ देखि ६० नम्बरसम्म थपेको पाइएपछि अख्तियारले कोइरालासँगै मानविकी संकायका गोप्य शाखाका कर्मचारी रामबहादुर कर्मचार्यलाई पक्राउ गरी अनुसन्धान गरेको छ ।

बैठकमा समितिका सदस्यहरूले अंक बढाई तलमाथि गरिएको प्रकरणबाट नम्बर थपेर गोल्डमेडल दिने कार्य हुँदै आएको थियो भन्ने दावीलाई पुष्टि गरेको बताएका थिए ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले त्रिविका पदाधिकारीलाई बोलाएको उक्त छलफलमा त्रिविका उपकुलपति तीर्थ खनियाँ, शिक्षाध्यक्ष सुधा त्रिपाठी र रजिष्टार डिल्लीराम उप्रेतीको उपस्थिति रहेको थियो ।

समितिको मंगलबारको बैठकमा गैरकानुनी रुपमा विद्यार्थीको प्राप्ताङ्क बढाई परीक्षा नियन्त्रण कार्यालयको अभिलेखमा तलमाथि पारिएको र सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पतालको सम्बन्धमा छलफल भएको समिति सभापति घर्तीका स्वकीय भृकुटी मगरले जानकारी दिइन् ।

तपाइको मत