३ असार ०७५, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ ।
सूचना प्रविधिको विकाससँगै त्रिविलाई पनि सूचनाप्रविधिमैत्री बनाउनका लागि सो व्यवस्था गर्न थालिएको हो ।
त्रिविले पद्मकन्या बहुमुखी क्याम्पस बागबजार, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा, खाद्य प्रविधि क्याम्पस धरान, लुम्बिनी वाणिज्य बहुमुखी क्याम्पस बुटवल र कैलाली बहुमुखी क्याम्पस कैलालीका स्नातक प्रथम वर्षका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए ।
सहनियन्त्रक अधिकारीले पनिकाले ती पाँच क्याम्पसका कर्मचारीलाई अनलाइन फाराम भराउनका लागि आउँदो शुक्रबार तालिम दिइने जानकारी दिए ।
त्रिविले अन्य क्याम्पसमा पनि अनलाइनबाट परीक्षा फारम भराउने व्यवस्था मिलाउने छ । अब चाँडै स्नातक तह प्रथम वर्षको नै परीक्षा फाराम खोल्ने तयारी त्रिविको छ । यसैगरी त्रिविले यसै वर्षदेखि दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीलाई पनि अनलाइनबाट फाराम भराउने छ ।
अहिले विद्यार्थीले त्रिवि पनिकामा आएर फाराम भर्ने गरेका छन्। त्रिविले गत जेठ दोस्रो हप्तादेखि एकै दिनमा ट्रान्सक्रिप्ट पनि दिन थालेको छ ।













