थप चार हजार ३९२ जनामा कोरोना पुष्टि, २१ जना संक्रमितको निधन

३० असोज ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गएको चौबीस घण्टामा चार हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले गएको चौबीस घण्टामा चार हजार ३९२ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै कूल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ ।

यस्तै हाल आइसोलेसनमा ३७ हजार ३८२ जना र क्वारेन्टाइनमा ४ हजार ८०८ जना रहेको उनले बताए ।

प्रवक्ता गौतमले कोरोना संक्रमणबाट गएको चौबीस घण्टामा तीन हजार ५२२ जना निको भएर घर फर्किएको साथै हालसम्म निको हुनेको कूल संख्या ८८ हजार ४० जना पुगेको जानकारी दिए ।

यस्तै उनले थप २१ जना कोरोना संक्रमितको निधन भएको बताएका छन् । योसँगै नेपालमा कोरोनाबाट निधन हुनेहरुको संख्या ७१५ पुगेको छ ।