९ भदौ ०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले राष्ट्रिय अद्यावधिक विवरणको जानकारी दिँदै देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमूना परीक्षण गरिएकोमा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको बताए । योसँगै संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ ।
कूल संक्रमितमध्ये १९ हजार १९९ निको भई घर फर्किसकेको बताउँदै उनले हाल आइसोलेसनमा १४ हजार २५० जसमध्ये होम आइसोलेसनमा ५ हजार ६६९ जना र संस्थागत आइसोलेसनमा ८ हजार ५८१ जना साथै क्वारेन्टाइनमा १० हजार ४५३ रहेको बताए ।
प्रवक्ता गौतमले काठमाडौं उपत्यकामा काठमाडौंमा १९९, ललितपुरमा १९ र भक्तपुरमा १४ गरी २३२ संक्रमित थपिएको बताए ।
प्रवक्ता गौतमले थप ७ जना कोरोना संक्रमितको निधन भएको र यो सँगै मृत्यु हुनेको संख्या १६४ पुगेको जानकारी दिए ।
मृत्यु हुनेहरुमा काठमाडौंको ७१ वर्षीय महिला साथै ७४ र ६६ वर्षीय दुई पुरुष गरी तीन जना, सिरहाको २२ वर्षीय पुरुष, पर्साको ६८ वर्षीय पुरुष, धनुषाको ७६ वर्षीय पुरुष र रुपन्देहीको ५३ वर्षीय पुरुष रहेका उनले बताए ।
यसैगरी मुस्ताङ र हुम्ला जिल्लामा कोरोना संक्रमितको संख्या शुन्य रहेको पनि उनले बताए ।













