
वीरगंज/नगवा । खानेपानी मन्त्री प्रदीप यादवले देशभरीका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन् ।
वीरगंज महानगरपालिका–१६ मा नगवा खानेपानी ओभरहेड ट्याङ्कीको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने पनि बताए ।

“नागरिकलाई शुद्ध सुरक्षित खानेपानी वितरण गर्नु मेरो प्रमुख लक्ष हो । खानेपानीका क्षेत्रमा प्रयाप्त वजेट विनियोजन हुन्छ । सबै नागरिकलाई सुरक्षित पानी बितरण गछौँ,” उनले भने ।
आगामी आर्थिक वर्ष २०८२÷८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासको लक्ष्य हासिल गरिने मन्त्री यादवले बताए ।
नागवा खानेपानी आयोजनाबाट वडा नं १५ र १६ का करिब तीन हजार पाँचसय घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रवन्धक अर्जुनबाबु ढकालले जानकारी दिए ।













