२ कार्तिक ०७६, काठमाडौं । सरकारले प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश तथा स्थानीय तहसँग मिलेर आज र भोलि दुई दिनसम्म ६ महिनादेखि पाँच वर्षका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।
स्वास्थ्य सेवा विभाग, पोषण शाखा प्रमुख केदार पराजुलीले नजिकको खोप केन्द्र वा वडा कार्यालयमा स्वास्थ्य स्वयंसेविकाहरूले भिटामिन ए र जुकाको औषधि खुवाउने जानकारी दिए । उनले आज खान छुटेकाहरुलाई भोलि खुवाइने पनि बताए ।
भिटामिन ए कार्यक्रमका स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालित भएको बताइएको छ ।
पराजुलीकाअनुसार पहिलो चरणमा ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।
स्वास्थ्य संस्थामा बिरामीसँग हुनुपर्ने कर्मचारी, मन्त्रालय परिसरमा घाम ताप्दै
उपप्रधामन्त्री समेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादव साथै उनको सचिवालयले मन्त्रालयका कर्मचारीहरूलाई काम गराउने तरिका नपुगेर हो या मन्त्रालयका कर्मचारीहरूले अटेर गरी काम नगरेर हो स्वास्थ्य संस्थामा काम गरिरहेको हुनुपर्ने कर्मचारी केही दिनदेखि मन्त्रालय परिसरमा घाम तापेर दिन कटाइरहेका छन् ।
देशभर भिटामिन ए र जुकाको औषधि खुवाइने कार्यक्रम सञ्चालन भइरहँदा स्वास्थ्य मन्त्रालय मातहत स्वास्थ्य चौकी, स्थानीय तह, प्रदेश र संघमा समायोजन भएका कर्मचारीहरू कार्यक्षेत्र मिलाउन मन्त्रालय परिसरमा डुलिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयको कर्मचारीहरूले काम गर्ने तरिका र व्यवस्थापन सही नहुँदा सयौं कर्मचारीहरू केही हप्तादेखि मन्त्रालयका कोठाहरू चाहर्न विवश भएका छन् ।
मन्त्रालयको गुनासो व्यवस्थापन तथा सहजीकरण समितिले गुनासोहरूलाई तत्काल हुने वा नहुने भनी निर्णय नदिँदा कार्यक्षेत्रमा बिरामीलाई सेवा दिनुपर्ने कर्मचारी दुईहप्ताभन्दा बढी समयदेखि मन्त्रालय चक्कर लगाइरहेका छन् ।
हाल कार्यरत र समायोजन भएको तह र नाम समेत उल्लेख नगर्ने शर्तमा शुक्रबार मन्त्रालय परिसरमा भेटिएका एक कर्मचारीले भने, ‘मन्त्रालय आफैँ बिरामी रहेछ, के को जनताको कामहरू, कर्मचारीको समस्याहरू हल हुन्थ्यो ?’
‘मन्त्रीको सचिवालय वरपर भित्ताहरूमा समायोजनको काम यहाँबाट हुँदैन भनेर फोटोकपी पेपर टाँसिएको छ भने दर्ता शाखा अगाडि गुनासोका लागि २१९ मा सम्पर्क गर्नु भनेर कागज टाँसेको छ । जहाँ जेसुकै लेखे पनि कहीँबाट पनि काम भइरहेको छैन’ ती कर्मचारीले भने, ‘कार्यरत स्थानमा काम गर्ने बेला स्वास्थ्य मन्त्रालयले तमासा देखाएर बसिरहेको छ ।’
अर्का एक कर्मचारीले समायोजनको पत्र पाएकाहरूका पनि कहीँ न कहीँ कम्प्युटर टाइपिङ्गमा त्रूटि गरिदिनाले धेरै दिनदेखि दुःख पाइरहेको बताए ।
त्यस्तै अर्का एक कर्मचारीले भने, ‘पहिला निवेदन दर्ता गर्न लगायो, गुनासोमा पठायो अनि गुनासोले प्रशासनमा जाउ भन्यो, प्रशासनले सचिवलाई तोक लगाउन जाउ भन्यो । सचिवले तोक लगाएपछि सचिवले फेरि गुनासोमै जाउ भन्यो यसरी फेरि गुनासो शाखामै पठाएर दुःख दिइरहेको छ ।’
सयौं कर्मचारीहरू स्वास्थ्य मन्त्रालय परिसरमा आएर घाम तापिरहेको देखेपछि कर्मचारीहरूको गुनासो सुन्ने जिम्मेवारी सम्हालेका गुनासो व्यवस्थापन समितिका संयोजक महेन्द्र श्रेष्ठलाई हाकाहाकीले फोन सम्पर्क गर्दा श्रेष्ठको मोवाइलमा घण्टी जाने बित्तिकै उनले कल फरवाड गरिदिए ।
बिरामीलाई सेवा दिनुपर्ने कर्मचारीहरू मन्त्रालय परिसरमा के गर्दैछन् त ? (भिडियोसहित)



















