देशमै बस्न प्रेरित गर्ने सिकाइले मात्र देश निर्माणमा सहयोग पुग्छ – प्रा.डा. गोविन्दसिंह विष्ट

काठमाडौं । युग सुहाउँदो शिक्षण विधिको विकासका शिक्षक र प्राध्यापकको कार्यशाला सुरु भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा राजधानीको सिनामंगलस्थित सेन्ट्रल कलेजले तीन दिने कार्यशाला आयोजना गरेको हो ।

सोमबारदेखि सुरुभएको २१ औं शताब्दीको शिक्षाः योजना, आवश्यकता र कार्यान्वयन’ विषयक कार्यशालाको उद्घाटन गर्दै खुला विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. गोविन्दसिंह विष्टले शिक्षक प्राध्यापकहरु शिक्षण विधिबारे अपडेट हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।

समयानुकूल शिक्षण विधि अवलम्बन गर्नुपर्ने भन्दै उनले आफूले जानेका कुरा जुन विधिबाट विद्यार्थीले बुझ्छन्, सोही विधिअनुसार अध्यापन गर्नुपर्नेमा जोड दिए ।

शिक्षण सिकाइ प्रमाणपत्रका लागि मात्र नभई सिक्न र क्षमता विकासका लागि हुनुपर्ने बताउँदै उनले गरेर सिक्ने सिकाइका लागि सबैले जोड दिनुपर्ने बताए ।

उनले भने, ‘विद्यार्थीहरु विदेशिँदा विश्वविद्यालयका कक्षाहरु विस्तारै रित्ता हुँदै गएको छ, विद्यार्थीलाई सिकाउने र टिकाउने एवं देशमै बस्न प्रेरित गर्ने शिक्षण सिकाइले मात्र देश निर्माणमा सहयोग पुग्दछ ।’

उक्त अवसरमा सेन्ट्रल कलेजका प्रिन्सिपल पारस श्रेष्ठले कार्शालाको औचित्व र महत्वमाथि प्रकाश पारेका थिए ।

राजधानीका विभिन्न कलेजमा शिक्षण कार्यमा संलग्न ३ दर्जन बढी शिक्षक र प्राध्यापकको सहभागिता रहेको कार्यशालामा प्राध्यापकहरु पूर्ण लामिछाने, विश्वराज जोशी र गोविन्द न्यौपानेले २१औं शताब्दीमा शिक्षण विधिको योजना, अनुगमन र कार्यान्वयनबारे सहभागीलाई प्रशिक्षण दिएका थिए ।