नयाँ बजेट यथार्थपरक बनाउने अर्थमन्त्री पौडेलको दाबी

२१ फागुन ०८१, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८२/८३ मा अनुशासित र यथार्थपरक बजेट ल्याउने बताएका छन् ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका लागि मन्त्रालयगत गरेको छलफलमा यस्तो बताएका हुन् ।

अर्थमन्त्री पौडेलले छलफलमा यर्थाथपरक बजेट आउँदा बीचबीचमा रकमान्तर र संशोधन गर्नु नपर्ने र कार्यान्वयनमा समस्या नआउने बताए ।

उनले बजेटका सिद्धान्त, मूल्य मान्यता आत्मसात गरी बजेट बनाउने र विगत अनुभवबाट शिक्षा लिएर अघि बढ्ने बताए ।

मन्त्री पौडेलले संघ, प्रदेश र स्थानीय सरकार रहेकाले संघीयता र संघ सरकारको भूमिकालाई विशेष ध्यान दिएर बजेट बनाउनेमा जोड दिए ।

आज बुधबार अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र त्यस मातहतका विभाग तथा निकायसँग परामर्श गरेको थियो ।

छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरे, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा लगायत सहभागी थिए ।