नरैनापुरमा ‘हाम्रो बिद्यालय म बनाउँछु’ अभियान सुरू

३ असोज ०७९, बाँके । जिल्लाको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिएको बताएका छन् ।

अध्यक्ष शाहले आइतबार १२ जना करार शिक्षकहरुलाई नियुक्ति पत्र दिँदै ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान शुरू गरिएको बताएका हुन् ।

सार्वजनिक शिक्षा सुधार गर्न, सार्वजनिक विद्यालय बचाउन विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने बताउँदै उनले शिक्षण पेसालाई मर्यादित बनाउन सके शैक्षिक सुधार हुने बताए ।

नरैनापुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले शिक्षा सेवाको क्षेत्र भएकोले सेवासुविधा पाइनँ भनेर पढाउन छोडेर आन्दोलन गर्न जान नमिल्ने बताए ।

यस्तै वडा नं. ४ का अध्यक्ष मसूद अहमद शाहले लोक सेवाको मापदण्डमा रहेर करार सेवाका लागि पालिकाले खोलेको विज्ञापनमा ६८ जनाबाट १२ जनाले नाम निकालिएको बताए ।

उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल,वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, शिक्षा अधिकृत कृष्ण चौधरी,शिक्षा समितिका सदस्य एंव गाँउपालिका अध्यक्षकका स्वकिय सचिव ब्रिजेन्दर यादव, शिक्षक अफसर अलि, सज्जाद खान, कमल केसी लगायतको सहभागिता रहेको थियो ।