२९ फागुन ०७९, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले बधाई ज्ञापन गरेकी छिन् ।
सोमबार पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मुले एक पत्र लेखी आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन् ।
पत्रमा उनले भारत र नेपालबीच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको भन्दै राष्ट्रपति पौडेलको कार्यकालमा भारत र नेपालबीच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको उल्लेख गरेकी छन् ।
यस्तै राष्ट्रपति पौडेललाई चिनियाँ राजदूत चेन सङले बधाई दिएका छन् ।
उनले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘नयाँ राष्ट्रपति रामचन्द्र पौडेलको सफल कार्यकालको शुभकामना । तपाईको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास राखेका छौं ।’













